मस्को । युक्रेनले आक्रमण तीव्र पारेपछि कालोसागर हुँदै हुने व्यापार ठप्प भएपछि रूसले आर्कटिक क्षेत्रको मुर्मान्स्क बन्दरगाहबाट गहुँ निर्यात गर्न थालेको छ। यो बन्दरगाहबाट पहिलोपटक अनाज लोड गरिएको हो।
मुर्मान्स्क वाणिज्य बन्दरगाह र रूसको ठूलो अनाज व्यापारी कम्पनी डेमेट्रा होल्डिङले पहिलो खेपमा ३ हजार ४ सय मेट्रिक टन अनाज जहाजमा लोड भइरहेको जनाएका छन्। जहाजमा अन्ततः करिब २८ हजार मेट्रिक टन गहुँ लोड गरी मोरक्कोको कासाब्लान्का पठाइने बताइएको छ।
मस्कोबाट झन्डै २ हजार किलोमिटर उत्तरमा, नर्वेको सिमानानजिक रहेको मुर्मान्स्क बन्दरगाह दोस्रो विश्वयुद्धका बेला मित्र राष्ट्रका जहाजले सोभियत संघलाई आपूर्ति पुर्याउन प्रयोग गरेका थिए। वर्षभरि बरफ नजम्ने यो बन्दरगाह तटस्थ जलमार्गबाट पुग्न सकिन्छ।
जुलाईमा नयाँ अनाज सिजन सुरु भएयता रूस र युक्रेनले एकअर्काका बन्दरगाह र जहाजमाथि आक्रमण गरिरहेका छन्, जसले कालोसागरको कृषि व्यापार लगभग ठप्प पारेको छ। विश्वकै सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता रूसले त्यसपछि बाल्टिक सागरका बन्दरगाहतर्फ व्यापार सार्न थालेको थियो। सेप्टेम्बरमा बाल्टिक बन्दरगाहबाट १२ लाख मेट्रिक टन अनाज निर्यात भएको थियो, जुन रूसको समुद्री अनाज निर्यातको ६० प्रतिशतभन्दा बढी हो।
तर बाल्टिक तटका रूसबाहेक सबै देश नेटो सदस्य भएकाले त्यहाँ पनि सुरक्षा जोखिम रहेको रुसी अधिकारीहरूले बताएका छन्। टर्कीले कालोसागरमा युद्धविराम गरी ढुवानी पुनः सुरु गर्ने प्रयास गरे पनि रूसले नयाँ अनाज सम्झौतामा चासो नभएको जनाइसकेको छ।
