काठमाडौँ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अपनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक गोष्ठीमा बोल्दै उनले देशको हितका लागि कूटनीतिमा कुनै पक्षधरता राख्नु नहुने बताए ।
चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव विषयमा भएको गोष्ठीमा ज्ञवालीले चीनको कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकबारे चर्चा गरे । चीनले विश्वसामु यस्तो पृष्ठभूमि तयार गरिसकेको उनको भनाइ थियो, जसलाई कसैले पनि बेवास्ता गर्न सक्दैन । नेपालले चीनबाट धेरै कुरा सिक्न सक्ने उनले बताए ।
गौतम बुद्धको शिक्षाले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभाव पारेको उनको तर्क थियो । अहिले नेपालले कस्तो सन्तुलित नीति लिएको छ भन्ने सबैलाई थाहा भएको भन्दै उनले सन्तुलन गुमे देशले ठूलो चुनौती भोग्नुपर्ने चेतावनी दिए ।
फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले नेपाल र चीनबीच भएका केही सम्झौता कार्यान्वयनमा नआउँदा विकास निर्माण प्रभावित भएको बताए । भारत र चीन दुवैसँग कनेक्टिभिटीका क्षेत्रमा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।
विश्वभर बढ्दो द्वन्द्वले सबै क्षेत्रमा चुनौती थपेको उल्लेख गर्दै उनले चीनले विश्वबाट गरिबी हटाउन महत्वपूर्ण भूमिका खेलेको बताए । सत्तामा रहेको पार्टीको छवि स्वच्छ भए विकास अघि बढाउन सहज हुने पनि उनले बताए ।
