इजरायली टेलिभिजन च्यानल–१२ को शुक्रबारको रिपोर्टले इजरायलको राजनीतिमा नयाँ तरंग ल्याएको छ। रिपोर्टमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत अक्टोबरमा सम्पन्न निर्वाचनको ठीक अघि इरानमाथि सैन्य आक्रमण गर्ने तयारी गरेको दाबी गरिएको छ। उनले मोसाद प्रमुख रोमन गोफम्यानसँग मिलेर उक्त योजना बनाएको रिपोर्टमा उल्लेख छ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले योजनाबारे थाहा पाएपछि हस्तक्षेप गरेर आक्रमण रोकिदिएको च्यानलको दाबी छ। इजरायली सेना तथा सुरक्षा निकायका उच्च अधिकारीहरू पनि उक्त योजनाको विपक्षमा थिए। इरानले जवाफी आक्रमण गरे स्थिति बिग्रने र २७ अक्टोबरको निर्वाचनमा असर पर्ने उनीहरूको चिन्ता थियो। असहमतिका बाबजुद नेतान्याहु योजना अघि बढाइरहेका थिए। एक सुरक्षा अधिकारीको हतारको कदमबाट अमेरिकाले योजनाबारे थाहा पाएको रिपोर्टमा उल्लेख छ, तर ती अधिकारीले के गरे भन्ने खुलाइएको छैन।
प्रधानमन्त्री कार्यालयले भने रिपोर्टलाई झुटो भन्दै यस्तो कुनै योजना नरहेको दाबी गरेको छ। यसअघि २५ अक्टोबरमा पनि नेतान्याहु र सेना प्रमुख एयाल जमीरबीच इरानको विषयमा विवाद भएको खबर आएको थियो। च्यानल–१२ का अनुसार नेतान्याहुले इरानसँगको लडाइँ पुनः सुरु गराउन सक्ने आदेश दिएका थिए, तर जमीरले लिखित आदेश र कानुनी स्वीकृति माग्दै अस्वीकार गरेका थिए। सेनाका अधिकारीहरूले नेतान्याहुले निर्वाचनमा फाइदाका लागि इरानको मुद्दा प्रयोग गर्न खोजेको आशंका गरेका थिए। नेतान्याहुले ती खबरहरूलाई बकवास भने पनि सेना र मोसादलाई इरानको वर्तमान सरकार ढाल्न निर्देशन दिएको भने स्वीकारेका छन्।
यसैबीच, कतारको मध्यस्थतामा अमेरिका र इरानबीच युद्ध अन्त्यबारे वार्ता चलिरहेको छ। च्यानल–१२ का अनुसार नेतान्याहुले मध्यावधि निर्वाचन सकिनेबित्तिकै इरानमाथि पुनः आक्रमण गर्न ट्रम्पलाई आग्रह गरेका थिए, तर ट्रम्प वार्तालाई थप समय दिन चाहन्छन्। वार्ता अघि बढे इरानमाथिका प्रतिबन्ध खुकुलो हुन सक्ने डर नेतान्याहुलाई छ। शुक्रबार ट्रम्पले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताए।
