मंगलबार एकै दिन युरोपका विभिन्न देशमा उडिरहेका कम्तीमा सात वटा यात्रुवाहक विमानमा बमको धम्की आएको छ । धम्कीपछि विमानहरू डाइभर्ट गरिए, विमानस्थलमा सुरक्षा जाँच गरियो र केही विमानस्थल अस्थायी रूपमा बन्द गर्नुपर्यो । तर जाँचमा कुनै पनि विमानमा विस्फोटक पदार्थ भेटिएन र सबै विमान सुरक्षित अवतरण गरे ।
धम्की आएका विमानहरू पोल्यान्डको वार्सा, बुल्गेरियाको सोफिया, इटलीको रोम र स्पेनको मुर्सियातर्फ उडिरहेका थिए । लन्डनबाट वार्सातर्फ उडेको लट पोलिस एयरलाइन्सको विमानलाई वार्साको मोडलिन विमानस्थलमा डाइभर्ट गरियो, भने कोपनहेगनबाट आएको एसएएसको विमान वार्सा चोपिन विमानस्थलमा अवतरण गर्यो ।
रायनएयरका चार वटा विमान धम्कीको निसानामा परे । डब्लिनबाट रोम उडेको एउटा विमानलाई इटलीको वायुसेनाले रोमको फ्युमिसिनो विमानस्थलसम्म पुर्यायो । सोफियातर्फका दुई विमानमा १७६ र १८६ यात्रु सवार थिए ।
यसअघि सोमबार पनि लन्डनबाट सोफिया उडेको विज एयरको विमान धम्कीपछि बुडापेस्टमा अवतरण गर्नुपरेको थियो । ग्रीसमा इजरायलतर्फ जाँदै गरेको एउटा क्रुज जहाजको पनि जाँच गरियो ।
धम्की कसले दिएको हो भन्ने खुलेको छैन र कुनै समूहले जिम्मेवारी लिएको छैन । युरोपेली आयोगले धम्कीहरू आपसमा जोडिएका हुन् कि होइनन् भन्ने अहिले नै भन्न नसकिने बताएको छ ।
