काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरिन्।
लामो सवारी जामका कारण बिरामीसम्म चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताइन्। बाइकमा जाने इमर्जेन्सी मेडिकल टेक्निसियनले ठूलो एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रन नदिने काम गर्नेछन्। त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ।
बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पुर्याउने माध्यम भएको महानगरले स्पष्ट पारेको छ। यो सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ। हाल यो सेवा काठमाडौँ महानगरपालिकाभित्र उपलब्ध रहेको बताइएको छ। कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा महानगरको लगानीले नागरिकको जीवन बचाउन योगदान पुर्याइरहेको बताए।
