यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरको पूजा र नरक चतुर्दशीको स्नानसँगै साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ । बिहान सबेरैदेखि नै घरआँगनमा चहलपहल बढेको छ भने साँझपख दीप बालेर लक्ष्मीको स्वागत गरिने छ ।
आजका दिन बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल लगाएर स्नान गर्ने विधि छ । यसलाई तैलाभ्यङ्ग स्नान भनिन्छ । तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा पाप नाश हुने धार्मिक मान्यता छ । स्नानपछि कुकुरलाई टीका र माला लगाइदिएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ ।
धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ । कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्ने शास्त्रीय विश्वास छ । भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाँदा धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्याएको शास्त्रमा उल्लेख छ ।
आजै साँझ कात्तिक कृष्ण औँसीको सुखरात्रिमा लक्ष्मीपूजा गरिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ र पाइलैपिच्छे बत्ती बालेर घर झिलिमिली पारिन्छ । सूर्यास्तपछि बेलुकी ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ । दिनभर उपवास बसेर सन्ध्याकालमा धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको आराधना गरिन्छ ।
आज राति भैलो खेल्ने परम्परा पनि छ । यो परम्परा भगवान् विष्णु र राजा बलीको कथासँग जोडिएको छ । पुराणअनुसार वामन अवतार लिएका विष्णुले बलीसँग तीन पाउँ जमिन माग्दा बलीले आफ्नो राज्य नै अर्पण गरेपछि विष्णुले तिहारको दिनमा आफ्नो राज्य भ्रमण गर्न निमन्त्रणा दिएका थिए । त्यसैको सम्झनामा लक्ष्मीपूजाको रातमा भैलो खेल्दा “बलिराजाको भलो होस्” भन्ने भावना व्यक्त गरिन्छ ।
