तिहार सुरु भएसँगै सुनसरीको धरानमा बजारको चहलपहल निकै बढेको छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म सडकपेटी र मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड लाग्ने गरेको छ । दियो, रङ, मिठाई, किसमिस, पूजाका लागि प्रयोग हुने माटाका पाला, फूलमाला र झिलिमिली बत्ती किन्नेहरूको घुइँचोले बजार थप व्यस्त बनेको छ ।
धरान उपमहानगरपालिका–२ का नकुल दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मुख्य बजार भानुचोक घण्टाघरको सडकपेटीमा किसमिस, नरिवल, मिठाई र झिलिमिली बत्तीलगायत तिहारका सामग्री बिक्री गर्दै तिहार खर्च जुटाइरहेका छन् । उनले बिहान र साँझ बजार राम्रो चल्ने तर दिउँसो घाम धेरै लाग्दा ग्राहक कम आउने बताए । अहिले दैनिक २० हजारदेखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको उनको भनाइ छ ।
धरान सब्जीमन्डीका झिलिमिली बत्तीका व्यापारी राजन कोइरालाका अनुसार पछिल्लो समय परम्परागत रूपमा दियो बाल्ने चलन घट्दै गएको छ भने आधुनिक झिलिमिली बत्तीको माग बढेको छ । अन्य चाडपर्व र विवाहको मौसममा थोरैमात्र बिक्री हुने भए पनि तिहारमा अत्यधिक बिक्री हुने उनले बताए । अहिले इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलसम्मका व्यापारीले मौसमी व्यापारका रूपमा झिलिमिली बत्ती बिक्री गरिरहेका छन् । व्यापारीले दसैँ आउनुभन्दा केही महिनाअघि नै तिहारलाई लक्षित गरी बत्ती ल्याउने गरेका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजार सक्रिय बनेको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्ने अवसर पाएको बताए । उनका अनुसार तिहारमा विशेषगरी सडकपेटी र गल्लीमा पसल सञ्चालन गर्दा भीड र सडक व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिने गरेको छ । सङ्घले प्रशासनसँग समन्वय गरेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेको उनले बताए । तिहारका केही दिनको व्यापारबाट साना व्यापारीले आम्दानी गर्ने अवसर पाउने भएकाले यसले सहरको स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ ।
