काठमाडौं । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। स्थानीय प्रहरी अधिकारीका अनुसार तीव्र गतिमा रहेका दुई वटा कार एकआपसमा ठोक्किँदा घटना भएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कुन्दुज प्रान्तको दश्त अबदान क्षेत्रमा टोयोटा फोररनर र विपरीत दिशाबाट आइरहेको टोयोटा कोरोला कार आमनेसामने ठोक्किएका थिए। दुर्घटनामा दुवै गाडीमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जना गम्भीर अवस्थामा छन् र उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनाको थप विवरण भने बाहिर आउन बाँकी छ। अफगानिस्तानमा तीव्र गतिको सवारी, सडकको दुरावस्था र ट्राफिक नियमको प्रभावकारी पालन नहुँदा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्। ग्रामीण क्षेत्रका राजमार्गहरूमा सवारीसाधनको संख्या बढ्दै गएसँगै यात्रु जोखिम पनि बढेको अधिकारीहरूले बताउने गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतक तथा घाइतेको पहिचानसम्बन्धी जानकारी केही समयमा सार्वजनिक हुनसक्ने जनाएको छ।
