भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरले सीमा सुरक्षामा सघाउनेछन् । सशस्त्र प्रहरीले ‘अल्फा’ र ‘डेल्टा’ नामका दुई कुकुर त्यहाँको सीमा सुरक्षा बल गुल्ममा राखेर नियमित जाँचमा खटाउने निर्णय गरेको हो ।
अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टालाई हातहतियार र विस्फोटक पदार्थ पहिचान गर्ने तालिम दिइएको छ । शंका लागेका सामान र यातायातको जाँचका क्रममा उनीहरूलाई आवश्यकता अनुसार सीमा क्षेत्रमा परिचालन गरिनेछ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका उपरीक्षक प्रेमप्रकाश सिग्देलले दुवै कुकुर गुल्ममै रहने र आवश्यकता पर्दा सीमा सुरक्षाका लागि खटाइने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार मानिसले थाहा पाउन नसकेका शंकास्पद वस्तु कुकुरले पहिचान गर्न सक्ने भएकाले यो कदमले सीमा जाँचलाई प्रभावकारी बनाउने अपेक्षा छ ।
भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले खुला सीमार्ग भएर भारतबाट लागुऔषध भित्रिने क्रम बढेको र समस्या जटिल बन्दै गएको बताए । तालिमप्राप्त कुकुरको परिचालनले अवैध ओसारपसार नियन्त्रणमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा उनीहरूको छ ।
