अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । वासिङ्टनमा शुक्रबार हस्ताक्षर भएको यो आदेशसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा फेरबदल आएको छ ।
गत महिना कानुन बनेको ग्राहम ऐनले रुसी तेल र ग्यासका ठूला खरिदकर्तामाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिएको थियो । नयाँ आदेशमा ऐनको धारा ४ मा उल्लिखित प्रतिबन्ध र शुल्क लागू नगर्ने निर्णय गरिएको हो । यो ऐन रुसको ऊर्जा र रक्षा क्षेत्र, राष्ट्रपति भ्लादिमिर पुटिन तथा वरिष्ठ अधिकारीलाई लक्षित थियो भने पश्चिमी प्रतिबन्ध छल्न प्रयोग हुने रुसी ट्याङ्करहरूको ‘छाया जहाज बेडा’ पनि यसको निशानामा थियो ।
रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा पुटिनसँग भएको सहमतिपछि यो कदम आएको बताइएको छ । त्यसको बदलामा अमेरिकी प्रतिबन्धबाट केही राहत दिने समझदारी भएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘कमजोर निर्णय’ भन्दै आलोचना गरेका छन् । युक्रेनी सेनाले रुसी तेल प्रशोधन केन्द्रहरूमा पुनः आक्रमण थालेपछि यस सहमतिलाई लिएर किएभ र वासिङ्टनबीचको सम्बन्धमा पनि दरार आएको छ ।
