आज कार्तिक शुक्ल प्रतिपदा हो। यमपञ्चकको चौथो दिन भएकाले देशभर आज गोवर्द्धन पूजा र हलि तिहार मनाइँदैछ। घरघरमा आँगन लिपपोत गरेर गाईको गोबरले पर्वतको आकृति बनाइन्छ र त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गरिन्छ।
धार्मिक कथाअनुसार द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलामा गोवर्द्धन पर्वत उचालेर गोकुलका बासिन्दालाई मुसलधारे वर्षाबाट जोगाउनुभएको थियो। सोही घटनाको सम्झनामा गोवर्द्धन पूजा गर्ने चलन बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएको दिन गोवर्द्धन पूजा गर्नुपर्ने विधि रहेको छ।
आजै बली राजाको पनि पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मृत्युलोकको शासन गर्ने अधिकार दिनुभएको थियो। त्यसैले देउसी खेल्नेहरूले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने गर्छन्।
वर्षभरि खेतबारी जोतेर मानिसको सेवामा खटिने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ। गोरुलाई भगवान् शिवको वाहन साँढेका रूपमा पूजा गर्ने परम्परा छ।
त्यसैगरी वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हली र कृषि काममा संलग्न किसानलाई पनि पूजा गरी मीठा परिकार खुवाइन्छ। त्यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।
