झापाको शिवसताक्षीमा मौरीपालन गरेर जीवन चलाइरहेका किसान अहिले गम्भीर सङ्कटमा परेका छन्। रोगको सङ्क्रमण र खेतबारीमा छरिने विषादीले घारका घार मौरी मर्न थालेपछि धेरै किसान व्यवसाय छाड्ने अवस्थामा पुगेका हुन्।
शिवसताक्षी–११ की देवीकुमारी दाहाल ‘मौरी दिदी’ का नामले चिनिन्छिन्। अठार वर्षअघि एक हजार रुपैयाँ लगानी गरेर दुई घारबाट सुरु गरेको उनको व्यवसाय कुनै बेला ९०० घारसम्म पुगेको थियो र वार्षिक १० हजार केजीसम्म शुद्ध मह उत्पादन हुन्थ्यो। मौरीपालनकै कारण उनले राष्ट्रपति पुरस्कारसमेत पाएकी थिइन्। तर अहिले रोगले उनका डेढ सय घारका मौरी मारिदिएको छ र जम्मा ५० घार मात्र बाँकी छन्। ठूलो लगानी डुबेको र बजारको समेत समस्या भएकाले व्यवसाय निरन्तरता दिन गाह्रो भएको उनको गुनासो छ।
कनकाईका भुवन अधिकारीले १०० घारबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। तर लगानीअनुसार प्रतिफल नपाएको उनको भनाइ छ। चरनमा गएका मौरी विषादीका कारण मरेर फर्किन छाडेका छन् भने सरकारी प्रोत्साहन पनि नपाएको उनले बताए। स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम ल्याउनुपर्ने उनको माग छ।
शिवसताक्षीका कृषि शाखा प्रमुख रविन भट्टराईका अनुसार नगरपालिकामा अहिले पनि दुई हजारभन्दा बढी घारबाट मह उत्पादन भइरहेको छ। तर रोग, विषादी र बजार व्यवस्थापनकै कारण किसानको आकर्षण घट्दै गएको उनले बताए। वार्षिक दुई हजार केजीसम्म मह उत्पादन गर्दै आएका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभाबी छरिने विषादीले व्यवसायमा ठूलो सङ्कट निम्त्याएको बताए। महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पाए व्यवसाय व्यवस्थित हुने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ।
