काठमाडौं । चाडपर्व सकिएसँगै काठमाडौं उपत्यकामा कुखुरा मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको नयाँ मूल्य तोकेको हो।
संघले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २८० रुपैयाँ पुगेको छ। दसैंअघि जिउँदो कुखुराको मूल्य प्रतिकिलो २९० रुपैयाँ थियो। त्यसैगरी तयारी मासुको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँले घटेर ३८५ रुपैयाँ कायम भएको छ। यसअघि तयारी मासु प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुँदै आएको थियो।
मूल्य घट्नुको कारण मासुको खपतमा आएको कमी भएको संघले जनाएको छ। दसैंको अवधिमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने भएकाले कुखुरा मासुको माग केही घटेको थियो।
यसका साथै चाड मनाउन उपत्यका बाहिर गएका धेरै मानिस अझै फर्किसकेका छैनन्। उपत्यकामा मानिसको उपस्थिति पातलिँदा समग्र माग र खपत घटेपछि मूल्य समायोजन गर्नुपरेको संघको भनाइ छ।
