नुवाकोट – भोटेकोशीको बाढीले दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको विदुर क्षेत्रमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ। त्रिशूली नदीमाथि बनेको यो पुलबाट स्थानीयको आवतजावत सहज हुन थालेको हो।
गत भदौ १० गतेको बाढीले विदुर नगरपालिका–१ स्थित पक्की पुल बगाएयता स्थानीयले तुइन र जिपलाइनबाट नदी वारपार गर्दै आएका थिए। ढुङ्गे र त्रिशूली बजार जोड्ने गरी निर्माण भइरहेको पुलको मुख्य संरचना र लट्ठा जडान सम्पन्न भएपछि स्थानीयको कठिनाइ बुझेर सञ्चालनमा ल्याइएको नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलले जानकारी दिए। पुलका दुवैतर्फ चार ठाउँमा सहायक लट्ठा बाँध्ने लगायत केही काम अझै बाँकी रहेको उनले बताए।
पुल निर्माणका लागि ३ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म १ करोड ६८ लाख रुपैयाँ खर्च भइसकेको र थप १० लाख रुपैयाँ बराबरको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ। नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषमार्फत १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले बताएका छन्; अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्नेछ।
विदुर नगरप्रमुख राजन श्रेष्ठका अनुसार पुल सञ्चालनमा आएसँगै त्रिशूली बजार, विदुरका वडा नं. ७, ८, ९ र १२, किस्पाङ, म्यागङ, रसुवाका वडा नं. १, २, ३ र धादिङतर्फका यात्रुलाई राहत मिलेको छ। त्रिशूली अस्पताल, विद्युत् प्राधिकरणको वितरण केन्द्र र विद्यालय पुग्नसमेत सहज भएको छ। राहत सामग्री ओसारपसार र पुनःस्थापना कार्य पनि गति लिने अपेक्षा गरिएको छ।
