काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार गठन वा सहभागिताका विषयमा कुनै निर्णय नगरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्पष्ट पारेका छन्। पार्टीले सरकार बनाउन दाबी नगरेको र कुनै दलसँग समर्थन पनि नमागेको उनले जनाएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खिचिएको तस्बिरसहित केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जसपा–एमाले सहकार्यको खबर सार्वजनिक भएपछि यादवले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्। उनले सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै नीति नलिएको, कुनै निर्णय नगरेको र कसैसँग कुनै समझदारी पनि नभएको बताए।
बेग्लै सन्दर्भमा खिचिएको तस्बिरलाई केही व्यक्तिले दुरुपयोग गरी भ्रामक प्रचार गरेको देख्दा आफूलाई आश्चर्य लागेको यादवले बताए। यस्ता कपोलकल्पित, गलत र दुष्प्रचारपूर्ण सन्देशमाथि विश्वास नगर्न उनले सबैलाई आग्रह गरेका छन्। सरकारमा सहभागिताको सम्भावना तत्काल नभएको पनि उनको भनाइ छ।
