१ कात्तिक, टेक्सस । विद्युतीय गाडी निर्माता टेस्लाले लामो प्रतीक्षा गरिएको स्पोर्ट्स कार ‘रोडस्टर’ को नयाँ संस्करण देखाउँदै यसलाई वास्तविक जीवनको उड्ने कारका रूपमा प्रस्तुत गरेको छ ।
टेक्ससमा आयोजित विशेष कार्यक्रममा कम्पनीले कारमा रकेटमा प्रयोग हुने प्रविधिको थ्रस्टर जडान गरेर जमिन छोडेर हावामा उड्न तथा हावामै दिशा परिवर्तन गर्न सक्ने क्षमता रहेको दाबी गर्यो ।
स्पेसएक्सको परिसरमा गरिएको प्रत्यक्ष प्रदर्शनीमा रोडस्टर तीव्र गतिमा एउटा ठूलो र्याम्पमा उक्लिएर हावामा उफ्रिएको थियो । त्यसपछि गाडीले हावामै घुमेको (फ्लिप) देखायो र एयर जेटको बलमा सुरक्षित रूपमा जमिनमा उत्रियो ।
मुख्य कार्यकारी इलन मस्कले ल्यान्डिङ सफल भएपछि खुसी हुँदै भिडियो एआईले बनाएको नभएर वास्तविक भएको प्रमाणित गर्नकै लागि लाइभ डेमो गरिएको बताए । मस्कका अनुसार यो दुई सिटे कार मात्र ०.८१ सेकेन्डमा ९७ किलोमिटर प्रतिघण्टा गतिमा पुग्न सक्छ ।
टेस्ला र स्पेसएक्सका इन्जिनियरहरूले मिलेर विकास गरेको यो गाडीमा अन्तरिक्षका रकेट र उपग्रहहरूको दिशा फेर्न प्रयोग हुने ‘कोल्ड–ग्याँस थ्रस्टर’ प्रविधि छ । यसले उच्च दबाबमा संकुचित हावा वा ग्यास बाहिर फ्याँकेर गाडीलाई थप बल दिन्छ । हावामै नियन्त्रणका लागि गाडीमा छुट्टै ‘एल्टिट्यूड थ्रस्टर्स’ र पछाडि ‘मेन थ्रस्टर्स’ राखिएको छ ।
कार सडकमा गुड्न सक्छ कि भनेर सोध्दा मस्कले हाँस्दै भने, ‘यो तपाईंको सडक कस्तो छ भन्नेमा निर्भर गर्छ ।’
डेमोको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा छेडिएको छ । कोही ट्राफिक जाम छल्ने त कोही सडकका खाडलमाथिबाट उड्ने कल्पना गरिरहेका छन् ।
तर यो अहिले केवल एउटा डेमो मात्र हो । व्यावसायिक उत्पादन कहिले थाल्ने भन्ने र सुरक्षा मापदण्ड तथा सडक नियमहरू के हुने भन्नेबारे अहिलेसम्म कुनै स्पष्टता छैन ।
