काठमाडौँ । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजी स्वदेशको विकाससँग जोड्नुपर्ने बताएकी छन् । बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणले लाखौँ परिवारको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको उल्लेख गरिन् ।
तर उनको भनाइमा प्रवासीको योगदान रकममा मात्र सीमित हुनुहुँदैन — विदेशमा आर्जन गरेको अनुभव, प्रविधि र कार्यसंस्कृति पनि देशका लागि उत्तिकै मूल्यवान् सम्पत्ति हो । त्यसलाई कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रको उन्नतिसँग जोड्ने वातावरण बनाउनुपर्ने उनले बताइन् ।
भण्डारीले विदेशमा बस्ने नेपालीले बसेको मुलुकको कानुन र संस्कृतिको सम्मान गर्दै इमानदारी र मेहनतका साथ काम गरेर नेपालको छवि उजागर गर्नुपर्नेमा जोड दिइन् । उता श्रम शोषण, न्यून तलब, असुरक्षित कार्यस्थल र सम्झौताविपरीत कामजस्ता समस्या अझै कायम रहेको भन्दै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन प्रभावकारी श्रम सम्झौता आवश्यक रहेको बताइन् । अप्ठ्यारोमा परेका नेपालीलाई समयमै उद्धार र स्वदेश फिर्तीको व्यवस्था राज्यको प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ ।
हरित उद्योग, जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी र पर्यावरणमैत्री पर्यटनबाट रोजगारी सिर्जना गर्दै आयात घटाउने र निर्यात बढाउने सम्भावना रहेको उनले बताइन् । पार्टीबारे फैलाइने भ्रम र गलत सूचनाको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्नेमा पनि उनले जोड दिइन् । अधिवेशनमा विश्वका ३८ देशबाट ३५० प्रतिनिधि सहभागी छन् । नयाँ अन्तर्राष्ट्रिय कमिटी चयन गरिने दुईदिने अधिवेशनको समापन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
