Saturday, October 31, 2026
Breaking
युरोपका तीन ठूला देशमा युवाको सडक आन्दोलन, सरकार दबाबमा पाँच ओभरको रोमाञ्चक भिडन्तमा विराटनगरको जित, सुदूरपश्चिम पराजित रियादमाथि आएको शत्रु ड्रोन साउदीले खसाल्यो, भग्नावशेषबाट कोही घाइते भएनन् कम्बोडिया र क्यानडा पठाउने प्रलोभनमा ७० लाख ठगी, दुई जना पक्राउ पाँच ओभरको धमाकेदार ब्याटिङ : विराटनगरले सुदूरपश्चिमसामु १०६ रनको लक्ष्य जुगल–२ को शिखरमा स्पेनका तीन आरोही, नेपाली हिमालमा नयाँ कीर्तिमान युरोपका तीन ठूला देशमा युवाको सडक आन्दोलन, सरकार दबाबमा पाँच ओभरको रोमाञ्चक भिडन्तमा विराटनगरको जित, सुदूरपश्चिम पराजित रियादमाथि आएको शत्रु ड्रोन साउदीले खसाल्यो, भग्नावशेषबाट कोही घाइते भएनन् कम्बोडिया र क्यानडा पठाउने प्रलोभनमा ७० लाख ठगी, दुई जना पक्राउ पाँच ओभरको धमाकेदार ब्याटिङ : विराटनगरले सुदूरपश्चिमसामु १०६ रनको लक्ष्य जुगल–२ को शिखरमा स्पेनका तीन आरोही, नेपाली हिमालमा नयाँ कीर्तिमान

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रसुवाको जुरेढुङ्गा पर्यटनको पर्खाइमा

समाचार By

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि रसुवाको जुरेढुङ्गा ओझेलमा परेको छ । नौकुण्ड गाउँपालिका–१ मा अवस्थित यो क्षेत्र समुद्र सतहबाट दुई हजार ९८० मिटरको उचाइमा छ र प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक किंवदन्तीले भरिपूर्ण छ ।

जुरेढुङ्गाको पुछारमा सिप्पुङ खर्क रहेको छ, जहाँबाट नौकुण्ड गाउँपालिकाका थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लाच्र्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली र सातधारे हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट छिमेकी जिल्ला नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी र चिसापानीलगायतका डाँडाकाँडा पनि स्पष्ट देखिन्छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जुरेढुङ्गा वरपर थुप्रै खर्क र आकर्षक स्थलहरू छन् । चैत–वैशाखमा यहाँ ३२ भन्दा बढी प्रजातिका लालीगुराँस फुल्ने गर्छन् । जैविक विविधतायुक्त यस क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको समेत वासस्थान छ । ठूला–ठूला गुराँस, खस्रु र गोब्रेसल्लाका रुखहरूले जङ्गलको मनोरम आनन्द दिन्छन् ।

नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रबहादुर गलानले जुरेढुङ्गालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पालिकाका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए । सडक सञ्जालको सहज पहुँच पुर्‍याउन र पर्यटन प्रवर्द्धनका लागि पालिकाबाट योजनाबद्ध रूपमा प्रयास भइरहेको उनको भनाइ छ ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जुरेढुङ्गा आन्तरिक तथा बाह्य पर्यटन दुवैका लागि हाइकिङको उत्कृष्ट सम्भावना भएको ठाउँ रहेको बताए । जुरेढुङ्गा र आसपासका क्षेत्रलाई हाइकिङ गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसारलाई व्यापक बनाउन समाजले विशेष पहल सुरु गरेको उनले जानकारी दिए ।

यहाँको तामाङ वेशभूषा, रैथाने संस्कृति, सूर्योदय र सूर्यास्तको दृश्य, चौँरी एवं भेडाका खर्कहरू र कृषि तथा तरकारी फर्महरू यहाँका थप आकर्षण हुन् । पासाङल्हामु राजमार्गको गोम्बोडाँडा–स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले र दिलिङ हुँदै यहाँ पुग्न सकिन्छ ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *