बेलायतमा बसोबास गर्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुईवटा गिनिज विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। सन् २०२४ को फेब्रुअरी १६ मा बर्मिङ्घममा एक घण्टामा २ हजार २ सय १८ पटक फुटबल जगलिङ गरेर उनले पहिलो कीर्तिमान बनाएका थिए। त्यसपछि सन् २०२६ को मे १५ मा लगातार ६ घण्टा २२ मिनेट ५९ सेकेन्डसम्म बल भुइँमा नखसाली दुवै खुट्टा आलोपालो प्रयोग गर्दै जगलिङ गरेर उनले दोस्रो कीर्तिमान पनि कायम गरे।
आइतबार बर्मिङ्घममा आयोजित पत्रकार सम्मेलनमा डंगोलले आफ्नो उपलब्धि, फुटबल यात्रा र संघर्षको कथा सुनाए। ‘फुटबल पिचदेखि सगरमाथाको शिखरसम्म’ शीर्षकमा भएको कार्यक्रममा उनले आफूले क्षमताको सीमा परीक्षण गर्न यो चुनौती लिएको बताए।
काठमाडौंको टोखामा जन्मिएका डंगोलले अन्डर–१४ राष्ट्रिय लिगबाट फुटबल यात्रा सुरु गरेका थिए। ब्रिगेड ब्वाइज, मनाङ मर्स्याङ्दी, फ्रेन्ड्स क्लब र बाँसबारीलगायत क्लबबाट खेलेका उनी अन्डर–१९ राष्ट्रिय टोलीमा समेत छनोट भएका थिए, तर स्वास्थ्य समस्या र चोटका कारण राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएनन्। सन् २०२१ मा अध्ययनका लागि बेलायत पुगेका उनले सन् २०२२ मा बर्मिङ्घम सिटी युनिभर्सिटीबाट म्यानेजमेन्ट एन्ड इन्टरनेसनल बिजनेसमा स्नातकोत्तर गरे।
फुटबलसँगै उनले सगरमाथा आरोहणको बाल्यकालदेखिको सपना पनि पूरा गरेका छन्। सन् २०२५ को अप्रिल १९ मा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका उनले मे १४ मा सगरमाथाको चुचुरोमा पाइला टेके। आफ्नो सफलताको प्रेरणा आमाबुबाको संघर्षबाट पाएको उनले बताए।
