मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् र छठ पर्वलाई मर्यादित, शान्तिपूर्ण र सुरक्षित बनाउन बिहीबार विभिन्न निर्देशन जारी गरेको हो। सूचनामा देउसी–भैलो खेल्ने समय राति ९ बजेसम्म मात्र तोकिएको छ।
प्रशासनले पटका, भुइँचम्पा र आतिशबाजीजस्ता प्रज्वलनशील पदार्थको ओसारपसार, भण्डारण, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। त्यस्तै प्लास्टिकका फूल तथा मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न पनि प्रशासनले सचेत गराएको छ।
सूचनामा जुवातास, सट्टेबाजी र लंगुरबुर्जा नखेल्न तथा सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला र झैझगडा नगर्न भनिएको छ। अखाद्य तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि नगर्न र सवारीसाधनमा तोकिएभन्दा बढी भाडा नलिन तथा क्षमताभन्दा बढी यात्रु नबोक्न प्रशासनले आग्रह गरेको छ।
दीप प्रज्वलन तथा विद्युतीय बत्ती प्रयोग गर्दा आगलागीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले आग्रह गर्नुभएको छ। प्रशासनको निर्देशनविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
