सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुषको ज्यान गएको हो।
प्रहरीका अनुसार बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। ट्रक विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको हो भने मोटरसाइकल स.९ प.७६५० नम्बरको रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका थिए। मृतक दुवैको नाम, थर र ठेगाना खुल्न बाँकी छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारीसाधनलाई प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ भने मृतकको पहिचान र आफन्तको खोजीसमेत भइरहेको प्रहरीको भनाइ छ।
