काठमाडौं । नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण तत्कालका लागि स्थगित गरेको छ। ती चार सदस्यको पद पनि अहिले भरिने छैन र उनीहरूको पद यथावत् राखिनेछ।
पार्टीका एक पदाधिकारीका अनुसार सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादव आज हुने शपथग्रहण कार्यक्रममा सहभागी हुन पाउने छैनन्। उनीहरू १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। अदालतमा विचाराधीन मुद्दाका कारण उनीहरूको शपथ रोकिएको ती पदाधिकारीले बताएका छन्।
गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो। सभापतिमा निर्वाचित गगन थापाले असोज ३१ गते फूलपातीका दिन पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तय गरिएको थियो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले उक्त कार्यक्रमबारे जानकारी दिएका थिए। तर अदालतमा मुद्दा विचाराधीन रहेका चार सदस्य भने आजको कार्यक्रममा शपथ लिन पाउने छैनन्।
मुद्दाको टुंगो नलागेसम्म उनीहरूको शपथ र पदबहाली अघि नबढ्ने बुझिएको छ।
