काठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक असर कायम छ। यसको प्रभावमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल देखिएको छ भने अन्य भूभागको आकाश मुख्यतया सफा छ।
महाशाखाले आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराई तथा अन्य भूभागमा मौसम सफा रहने बताएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागसँगै कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
आज राति कोशी र गण्डकीका हिमाली तथा पहाडी भूभाग र बाँकी हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशीको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ।
आइतबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बादल र तराईमा सफा मौसम रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी र कोशी र बागमतीका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको भनाइ छ।
