काठमाडौं । नेपाली कांग्रेसभित्र आधिकारिकताको विषयमा उठेको १८ करोडको प्रसंगलाई लिएर देउवा समूहका नेता मोहनबहादुर बस्नेतले कडा टिप्पणी गरेका छन्। उनले २१ कात्तिक, शनिबार काठमाडौंमा आयोजित देउवा समूहको जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उक्त रकमको कुरा अझै सुरुवात मात्र भएको बताए।
बस्नेतका अनुसार १८ करोडले कांग्रेसको रुख नै कब्जा गरेको भन्ने चर्चा अहिले व्यापक भइसकेको छ। उनले यति ठूलो रकमको विषयलाई हल्का रूपमा लिन नमिल्ने बताए। स्वास्थ्य मन्त्रालयमा मात्रै छानबिन गर्ने हो भने पनि दर्जनौं मुद्दा लाग्ने खालका प्रसंग भेटिने उनको दाबी थियो।
नेता बस्नेतले यस विषयमा संलग्न वा आरोप लगाउनेमध्ये कसै न कसैमाथि कारबाही हुनुपर्ने माग गरे। उनले १८ करोडको कुरा उठाउनेमाथि होस् वा बेञ्च बहिष्कार गरेर बसेका तीन करोडवालामाथि, अथवा १८ करोड कसले, कहाँबाट ल्याएर खर्च गर्यो भन्नेमा— कुनै न कुनै पक्षमाथि कारबाही हुनैपर्ने बताए।
उनले छानबिन अगाडि बढ्दै जाँदा सत्य बाहिर आउने विश्वास व्यक्त गरे। कांग्रेसभित्रको यो विवादले पार्टीभित्र थप बहस चर्काउने देखिएको छ।
