काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको टिप्पणी गरे।
कार्कीले आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रचण्डले अदालतले यस विषयमा न्याय दिनेमा आफू विश्वस्त रहेको बताए।
आन्दोलनको तयारीबारे सोधिएको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्र आगामी योजना तय गरिने उल्लेख गरे। उनले एमालेसँग मात्र नभई कांग्रेस र संविधान तथा शान्तिप्रक्रियामा सहभागी सबै पक्षलाई एक ठाउँमा ल्याएर अघि बढ्ने बताए।
वर्तमान सरकारको कार्यशैलीमाथि टिप्पणी गर्दै उनले सरकार झिलिमिलीमा रमाएको बताए। सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेशबारे उनले त्यसलाई सुधार गरेर मात्र अघि बढाउनुपर्नेमा जोड दिए।
