हेटौँडा — लक्ष्मीपूजाको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुभकामना सन्देश जारी गर्दै महिलाप्रतिको सम्मानलाई घर र समाजको दैनिक व्यवहारमा उतार्न आग्रह गरेका छन्।
सन्देशमा उनले लक्ष्मीको तस्बिरमा गरिने पूजालाई मात्र पर्याप्त नठानी वास्तविक जीवनमा महिलालाई आदर गर्नुपर्ने बताए। उनले भने, ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्।’
संसारका तीन ठूला शक्ति — बल, विद्या र धन — सबै नारी स्वरूपमा रहेको उनको भनाइ छ। उनले पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै नारीप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए। ‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ उनले भने।
धर्ममा व्यक्त हुने आस्था र दैनिक जीवनको व्यवहार एउटै हुनुपर्ने उनको धारणा छ। महिलाको सम्मानलाई पूजाआजा र शुभकामनामा मात्र थन्क्याउन नहुने उनले बताए। तिहारको यस सन्देशले महिला उत्थानको बाटो खोल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री थापामगरले लक्ष्मीपूजाको अवसरमा सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।
