तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल किसान भने चिन्तामा छन्। महिनौँको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्याउने चटारो छ, तर उत्पादनमा कमी, बढ्दो लागत र उचित मूल्य नपाउने समस्याले उनीहरूलाई सताएको छ।
भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुर्ख्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्। यस वर्ष उनले एक रोपनी जग्गामा मखमली फूल लगाएकी छन्। सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार माला उत्पादन हुने गरेकामा यस वर्ष अत्यधिक वर्षाका कारण जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनले बताइन्। अहिले मखमली फूलको एउटा मालाको थोक मूल्य ४० रुपैयाँ छ।
केही व्यापारी घरमै फूल लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ। त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बेच्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताइन्। लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म उनी काठमाडौंका कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा माला लिएर जान्छिन्।
ताथलीकै अर्का किसान शिवकेशरी बनमालाले यस वर्ष तीन रोपनीमा मखमली र सात रोपनी भाडाको जग्गामा सयपत्री फूलखेती गरेका छन्। सयपत्री फूल प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री भइरहेको छ। सयपत्रीको बढ्दो मागलाई ध्यानमा राखेर उनले पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेका हुन्।
फूलखेतीमा बजार व्यवस्थापन मात्रै चुनौती होइन। धानखेतीमा भन्दा बढी स्याहार र मेहनत गर्नुपर्ने किसानहरू बताउँछन्। बिरुवा रोपेदेखि फूल फुल्ने बेलासम्म विभिन्न रोग तथा किराको प्रकोपबाट जोगाउनुपर्ने भएकाले विषादी र अन्य कृषि सामग्रीमा समेत लगानी गर्नुपर्छ।
भक्तपुरका ताथली र गुण्डू फूलका लागि प्रख्यात छन्। ताथली चाँगुनारायण नगरपालिका–९ मा पर्छ भने गुण्डू सूर्यविनायक नगरपालिका–७ मा पर्छ। प्रत्येक वर्ष यहाँका सयौँ किसानले तिहार लक्षित फूलखेती गर्दै आएका छन्।
