अमेरिका र इरानबीचको तनाव अन्त्य गर्न भइरहेका कूटनीतिक पहलहरूले अपेक्षित नतिजा दिन नसकेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। आइतबार उनले वार्ता प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न नसकिने अवस्थामा रहेको उल्लेख गरे।
रुबियोका अनुसार इरानका केही माग यति अस्वाभाविक छन् कि तिनलाई व्यवहारमा उतार्नै सकिँदैन। ‘अहिलेसम्मको छलफल खासै फलदायी हुन सकेको छैन,’ उनले भने, ‘कुनै ठोस उपलब्धि नजिक छ भनेर म भन्न सक्दिनँ।’ उनी फ्रान्समा आयोजना हुने जी–७ मुलुकका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन जानुअघि बोलिरहेका थिए।
यद्यपि उनले ट्रम्प प्रशासनले विवादको समाधान कूटनीतिबाटै खोज्ने नीतिमा अडिग रहेको स्पष्ट पारे।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार नै सीएनएनसँगको कुराकानीमा वार्ता अघि बढिरहेसम्म इरानमाथि ठूला सैन्य कारबाही फेरि थाल्ने सम्भावना अत्यन्त न्यून रहेको बताएका थिए। तर उनले भविष्यमा थप सैन्य कदम चाल्ने सम्भावनालाई पूर्ण रूपमा नकारेका छैनन्।
अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार ‘टास्क फोर्स आइरन गेट’ नामक नयाँ एकाइ गठन गरेको घोषणा गरेको छ। करिब २० जना सैनिक तथा नागरिक कर्मचारी सम्मिलित यो टोलीले इरानको स्थल सीमा र अन्य बाटो हुँदै उन्नत हतियार तथा सामग्री भित्रिने क्रम रोक्न अमेरिकी निकायहरूबीच समन्वय गर्नेछ।
राष्ट्रपति ट्रम्पले आइतबार सामाजिक सञ्जालमा उक्त कार्यदल इरानमा ‘पूर्ण रूपमा सक्रिय’ रहेको लेखेका छन्। अमेरिकी नौसेनाको नाकाबन्दीका कारण इरान हुँदै वा इरानतर्फ निकै कम सामान मात्र आवतजावत हुने उनको दाबी छ।
