युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र नर्डिक देशका नेताहरूबीच मंगलबार डेनमार्कमा बैठक भएको छ। बैठकमा सैन्य सहयोग, हवाई प्रतिरक्षा र ऊर्जा पूर्वाधारको सुरक्षा मुख्य विषय रह्यो।
अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनबीच अबु धाबीमा प्रत्यक्ष वार्ता सुरु हुँदै गर्दा यो भेट भएको हो।
डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले युक्रेनलाई चार अर्ब ८० करोड क्रोनर (करिब ७२ करोड अमेरिकी डलर) बराबरको सैन्य सहायता दिने योजना रहेको बताए। ऊर्जा क्षेत्रका लागि थप १५ करोड क्रोनर सहयोग उपलब्ध गराइने जानकारी पनि उनले दिए।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले राष्ट्रपति जेलेन्स्की र नर्डिक नेताहरूलाई आफ्नो देशमा स्वागत गर्न पाउँदा गर्व लागेको बताइन्। स्वतन्त्र युक्रेन र स्वतन्त्र युरोपका लागि युक्रेनी जनताको संघर्ष जारी रहेको उनको भनाइ थियो।
बैठकमा स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसन, नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पो सहभागी भए।
नर्डिक मुलुकहरू युक्रेनका प्रमुख समर्थक राष्ट्र हुन्। गत अक्टोबरको अन्त्यमा जेलेन्स्की अमेरिकी प्रतिनिधिहरूसँग भेटवार्ता गर्न नर्वेको राजधानी ओस्लो पुगेका थिए।
त्यसपछि नर्वेका प्रधानमन्त्री स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए। प्रधानमन्त्री फ्रेडरिकसेनले नर्डिक छिमेकीसँग समन्वय नगरी वार्ता गरिएको भन्दै त्यसको आलोचना गरेकी थिइन् भने राष्ट्रपति स्टबले कुराकानी स्पष्ट र अर्थपूर्ण भएको बताएका थिए।
फ्रेडरिकसेनले रुसको पूर्णस्तरीय आक्रमण सुरु भएको झन्डै पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारण, राहत केन्द्र तथा खानेपानी र ताप आपूर्ति प्रणालीमाथि आक्रमण जारी रहेको बताइन्। यस्तो अवस्थामा युक्रेनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उनको भनाइ थियो।
यसैबीच कोपनहेगन प्रहरीले आगामी दिनमा राजधानीको सुरक्षा व्यवस्था कडा पारिने जनाएको छ। प्रहरीले नोभेम्बर १२ सम्म राजधानी क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाएको छ।
