मङ्सिर १६ देखि २७ गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यो महाकुम्भमा कर्णाली सह-आयोजक बनेको छ। आफ्नै प्रदेशमा पहिलो पटक हुन लागेको यस प्रतियोगिताको पूर्वतयारी प्रदेशभर तीव्र गतिमा अघि बढिरहेको छ।
कर्णालीका सामाजिक विकासमन्त्री तथा प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष जीतबहादुर मल्लका अनुसार १० वटै जिल्लामा ३२ वटा इभेन्टको छनोट सम्पन्न भइसकेको छ। कात्तिक ८ देखि १० गतेबाट बन्द प्रशिक्षण सुरु गर्ने योजना छ। खेलाडी, होटल व्यवसायी, यातायात, स्वास्थ्य र सुरक्षासम्बन्धी सरोकारवाला निकायहरूसँग समन्वय र छलफल जारी रहेको उनले बताएका छन्।
बजेट भने चुनौतीकै रूपमा छ। यस पटक प्रतियोगिताका लागि साढे ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअघि ९ करोड छुट्याइएकोमा प्रतियोगिता चार पटकसम्म सरेपछि रकम फ्रिज भएको थियो। वर्तमान बजेट पनि अपर्याप्त भएको मन्त्री मल्लले स्वीकार गरेका छन् र थप बजेटका लागि प्रदेश सरकार छलफलमा रहेको जानकारी दिएका छन्।
मुख्य खेल हुने प्रादेशिक रङ्गशाला भने अहिलेसम्म ठेकेदारबाट हस्तान्तरण भइसकेको छैन। करिब ९९ प्रतिशत काम सकिएको र वर्षाका कारण रोकिएको मैदानको पिच निर्माण अहिले पूरा भएकोले छिट्टै ह्यान्डओभर हुने उनले बताएका छन्।
सबैभन्दा पेचिलो समस्या भने बसोबासको हो। वीरेन्द्रनगरका होटलहरूले दैनिक करिब ५ हजार जनालाई बसोबास र खानाको व्यवस्था गर्न सक्ने बताएका छन्। छिन्चु, सल्यान, जाजरकोट र दैलेखका होटल व्यवसायीसँग पनि छलफल भइरहेको छ।
राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक टोलीको सुझावअनुसार कभर्डहल र पौडीजस्ता केही खेल नेपालगन्ज र बर्दियामा हुने भए पनि करिब ९० देखि ९५ प्रतिशत खेल कर्णालीभित्रै खेलाइने योजना छ।
