बैतडी । दसैँ रमाइलो तथा पारिवारिक जमघटको चाड मात्र होइन — सुदूरपश्चिमको बैतडीमा यो धार्मिक आस्था र भाकलको उत्सवका रूपमा मनाइन्छ। दसैँ–तिहारका बेला जिल्लाका शक्तिपीठहरूमा हुने विशेष पूजा र जात्राले यहाँको चाडलाई छुट्टै सांस्कृतिक पहिचान दिएको छ।
निङ्गलाशैनी भगवती, पाटनको उदयदेव, मेलौली भगवती, शिवनाथ, गिरेगाडा, रौलेश्वर भगवती र त्रिपुरासुन्दरीलगायत शक्तिपीठमा दसैँका बेला विशेष पूजाआजा र जात्रा आयोजना हुन्छ। मनोकामना पूरा होस् भनेर भाकल गर्ने र कामना पूरा भएपछि बलि, ध्वजा, घण्ट तथा मूर्ति चढाउने परम्परा यहाँ जीवित छ। निङ्गलाशैनीमा पञ्चमीदेखि नै भाकलअनुसारका बोका–राँगा राखिने र अष्टमीका दिन विधिपूर्वक बलि दिइने चलन छ।
यी मन्दिरमा तराईका जिल्ला र भारतको पिथौरागढबाट समेत हजारौँ श्रद्धालु आउने गर्छन्। उदयदेव मन्दिरमा नवरात्रमा सात बहिनी दुर्गाको आवाहन र दुर्गा सप्तशती पाठ हुने परम्परा छ।
यसैबीच, दसैँको चहलपहल बढ्दै गए पनि गाउँका किसान भने बाली भित्र्याउने काममा व्यस्त छन्। बसाइँसराइ र वैदेशिक रोजगारीका कारण गाउँमा चाडको पुरानो रौनक भने घट्दै गएको स्थानीयको अनुभव छ।
