काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयको अनलाइन प्रणाली राम्रोसँग काम नगर्दा सेवाग्राहीहरूले सास्ती भोग्नुपरेको छ ।आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले घोषणा गरेको छुट सुविधाको लाभ लिन असोज मसान्तभित्र विवरण बुझाउनुपर्ने समयसीमा नजिकिँदै गर्दा प्रणालीमा समस्या देखिएपछि कम्पनीका प्रतिनिधिहरू समस्यामा परेका हुन् ।सेवाग्राहीका अनुसार करिब चार–पाँच दिनदेखि प्रणाली सुस्त चल्ने, कागजात अपलोड नहुने र पटक–पटक ‘सर्भिस अनअभाइलेबल’ देखाउने समस्या छ । लगइन भए पनि कागजात अपलोड गर्न कठिनाइ भइरहेको उनीहरूको गुनासो छ ।सरकारले कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएका कम्पनीलाई पुराना विवरण अद्यावधिक गर्ने तथा कर, शुल्क, दस्तुर र जरिवानामा छुट सुविधा दिएको छ । आर्थिक विधेयक, २०८३ को दफा ४८ बमोजिम असोज मसान्तभित्र विवरण पेस गरेमा सोभन्दा अघिका सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने व्यवस्था छ ।तर प्रणालीको खराबीले छुट सुविधाको लाभ लिनबाट वञ्चित हुने चिन्ता सेवाग्राहीलाई छ । कार्यालयले भने समस्या समाधानबारे आधिकारिक प्रतिक्रिया दिएको छैन । उपरजिष्ट्रार रामप्रसाद ज्ञवाली र जेमा सुब्बाको मोबाइल सम्पर्क गर्दा स्विच्डअफ पाइएको थियो ।
कम्पनी रजिष्ट्रारको अनलाइन प्रणाली सुस्त : छुटको समयसीमा सकिनै लाग्दा सेवाग्राही समस्यामा
