काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामा नेपालमा चार खर्ब ३६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा तीन खर्ब ५२ अर्ब रुपैयाँ भित्रिएको थियो । एक वर्षमा रेमिटेन्स आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । मासिक औसत दुई खर्ब २१ अर्ब रुपैयाँ बराबर रेमिटेन्स भित्रिइरहेको छ ।लगातार ३८ महिनादेखि मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ । पछिल्ला छ महिनादेखि त मासिक दुई खर्ब रुपैयाँ नाघिरहेको छ । चाडपर्व नजिकिँदै जाँदा रेमिटेन्स आप्रवाह अझ बढ्ने गर्छ ।यो अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ भने विदेशिएको छ, जुन गत वर्षको दुई अर्ब ४१ करोडभन्दा कम हो ।वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या भने ४.११ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक लाख ३६ हजारले नयाँ तथा पुनः श्रम स्वीकृति लिएकामा यो वर्ष एक लाख ३० हजारले लिएका छन् ।रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्रा सञ्चिति पनि रेकर्ड उचाइमा पुगेको छ । सञ्चिति ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ, जुन रुपैयाँ र डलर दुवैका आधारमा हालसम्मकै उच्च हो । डलरका आधारमा सञ्चिति २६ अर्ब ४८ करोड डलर छ । यो सञ्चितिले १७ महिना २४ दिनको वस्तु तथा सेवा आयात धान्न सक्छ ।तर यो पर्याप्तता सूचक केही घट्दै आएको छ । गत असारमा १९ महिनाभन्दा बढीको आयात धान्ने अवस्थाबाट अहिले घटेको हो । आयात भने ३१.६ प्रतिशतले बढेर चार खर्ब एक अर्ब रुपैयाँ पुगेको छ ।
दुई महिनामै चार खर्ब ३६ अर्ब रेमिटेन्स भित्रियो, विदेशी मुद्रा सञ्चिति रेकर्ड उचाइमा
