विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
चाडपर्वका समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र शान्ति सुरक्षा सुदृढ बनाउन जिल्लास्थित सुरक्षा निकायका अतिरिक्त गण र बाहिनीबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त सहभागितामा यो योजना लागू गरिएको हो। चाडपर्वमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, कालोबजारी तथा अन्य अवाञ्छित गतिविधि रोक्न सदरमुकाम जनकपुरधामका संवेदनशील क्षेत्र र ग्रामीण भेगहरूमा नियमित गस्ती र आकस्मिक जाँच तीव्र पारिएको छ। भीडभाड हुने मुख्य धार्मिक स्थल र बजार क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर विशेष निगरानी बढाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले चाडपर्वलाई भयरहित, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताएका छन्। बडादसैँको महासप्तमीका अवसरमा जनकपुरधामस्थित महावीर युवा कमिटीद्वारा आयोजित कार्यक्रममा सुरक्षा अवस्थाबारे जानकारी गराउँदै उनले जिल्लाको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको स्पष्ट पारे।
शान्ति सुरक्षामा खलल पुर्याउने वा कानूनविपरीत गतिविधिमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने उनले चेतावनी दिए। उनले सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, भ्रातृत्व र एकता कायम राखेर हर्षोल्लासपूर्वक चाडपर्व मनाउन अपिल गरेका छन्।
