जाजरकोट । भूकम्पले क्षति पुगेको जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको सप्तमीका दिन शनिबार जगतिपुरबाट खर्कदेवतासहितको फूलपाती परम्परागत विधिअनुसार भित्र्याइएको छ। जाजरकोट राज्यको पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवता र फूलपातीलाई प्रमुख जिल्ला अधिकारी नवराज बरालको संयोजकत्वमा असोज २८ गते भएको निर्णयअनुसार व्यवस्थित रूपमा दरबारमा राखिएको हो।जाजरकोटको ऐतिहासिक पहिचान र धार्मिक आस्थासँग गाँसिएको यो चलन दशकौँ पुरानो हो। द्वन्द्वकालमा २०५५ सालतिर जगतिपुरबाट खड्ग ल्याउने अभ्यास रोकिएपछि खलंगास्थित कालिका मन्दिरबाटै दरबारमा फूलपाती भित्र्याउने थालिएको थियो। २६ वर्षको अन्तरालपछि २०८१ मा पुनः जगतिपुरबाटै खड्गदेवतासहित फूलपाती ल्याउने परम्पराले निरन्तरता पाएको थियो।इतिहासविद्का अनुसार विक्रम संवत् १८२५ मा काशीमा भएको धर्मसन्धिका क्रममा गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोटी राजा हरि शाहलाई शक्तिको प्रतीकका रूपमा खड्ग उपहार दिएका थिए। राजधानी जगतिपुरबाट खलंगा सरेपछि फूलपातीका दिन विशेष पूजासहित खड्गदेवता दरबारमा ल्याउने चलन बसेको मानिन्छ। खड्गलाई शक्ति र जाजरकोट राज्यको ऐतिहासिक पहिचानको प्रतीकका रूपमा लिने गरिन्छ।वि.सं. १८५२ तिर तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा बनेको मानिने दरबारले १९९० र २०४५ का भूकम्प मात्र होइन, २०७२ र २०८० कात्तिक १७ का विनाशकारी भूकम्पबाट पनि गम्भीर क्षति बेहोरेको छ। समयमै संरक्षण हुन नसक्दा २०८३ मा दरबारको केही भाग भत्किएको छ। दरबारको मौलिक स्वरूप नै हराउने जोखिम रहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताएका छन्। भग्न बन्दै गएको भौतिक संरचनाकै बीच फूलपाती भित्र्याउने परम्पराले निरन्तरता पाउनुले जिल्लाको सांस्कृतिक पहिचान जोगाउन मद्दत पुग्ने देखिएको छ।
जाजरकोटको भग्न दरबारमा जगतिपुरबाटै ल्याइयो फूलपाती र खर्कदेवता
