२२ कात्तिक, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको अवसरमा लोडसेडिङका दिनहरू सम्झँदै देशमा रहेको बेथिति र भ्रष्टाचार अन्त्य गर्ने अठोट व्यक्त गरेका छन्।
तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना दिँदै उनले २०७३ सालभन्दा अगाडिको अवस्था सम्झिए। त्यस समय उज्यालोकै पर्व तिहार पनि अँध्यारोमा मनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।
घिसिङले नागरिकको साथ, विश्वास र दृढ इच्छाशक्तिका कारण त्यतिबेला असम्भव ठानिएको लोडसेडिङ अन्त्य भएको बताए। त्यसपछि देशका धेरैजसो घरमा बिजुली पुगेको र अहिले नेपाली विद्युत् विदेशमा समेत बिक्री हुन थालेको उनले उल्लेख गरे।
उनले बिजुलीको अँध्यारो हटाएजस्तै अब बेथिति, भ्रष्टाचार, अन्याय र निराशाको अन्धकार हटाउने संकल्प लिएको बताए। जति नै चुनौती आए पनि आफ्नो यात्रा नरोकिने उनको भनाइ छ। अँध्यारोलाई सरापेर मात्र नहुने, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्ने उनले बताए।
घिसिङले विगतमा पाएको साथ र विश्वासप्रति आभार प्रकट गर्दै सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल बनाउने अभियानमा पनि नागरिकको साथ आवश्यक रहेको बताए। हरेक घरमा खुसी, हरेक मनमा आशा र हरेक नेपालीको जीवनमा समृद्धिको उज्यालो छाओस् भन्ने उनको शुभकामना छ।
