काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीश जनक पाण्डेमाथिको संसदीय सुनुवाइ पूरा भएको छ । सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बिहानैदेखि पाण्डेमाथि छलफल भएको थियो ।
पाण्डेको सुनुवाइ टुंगिएपछि समितिले अर्का प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीमाथि सुनुवाइ थालेको छ । डाँगीले समितिसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गरिरहेका छन् । त्यसपछि उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।
डाँगीविरुद्ध समितिमा सातवटा उजुरी परेका छन् । तीमध्ये पाँच जना उजुरीकर्ताले सबै प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका हुन् ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । तीमध्ये दुई जनाको सुनुवाइ शुक्रबार नै सम्पन्न भएको थियो । शुक्रबार डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूमाथि सुनुवाइ गरिएको थियो ।
