काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैका घरमा उत्सव र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् । शनिबार फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले सत्यको बाटोमा हिँड्न र सुशासन कायम गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।
दसैँ सदियौँदेखि नेपाली समाजमा विशेष महत्त्व बोकेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो पर्वलाई एकता, आत्मीयता र पारिवारिक मिलनको सङ्गमका रूपमा व्याख्या गरे । सानालाई माया र ठूलालाई आदर गर्ने मौलिक परम्परालाई दसैँले प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।
विभिन्न विपत्ति र सङ्कटपूर्ण परिस्थितिका बिच पनि नेपालीहरूले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उनले स्मरण गराए । यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायत क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजै रहेका बेला दसैँ आएको उल्लेख गर्दै उनले ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरे । विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उनले बताए ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीक भन्दै प्रधानमन्त्री शाहले हरेक व्यक्तिले आफूभित्रका खराब प्रवृत्ति चिन्न र तिनमाथि विजय पाउन सक्नुपर्ने बताए । काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न पनि उनले शुभकामना दिए ।
चाडपर्वका बेला बाध्यताले विदेशिनुपरेका नेपालीहरूको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले आर्थिक समृद्धि र नागरिकको सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताए । आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उनको भनाइ थियो । देशलाई सुशासनको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिरहेको उनले बताए । साथै उनले सबै नेपालीको आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै दसैँ सभ्य र भव्य रूपमा मनाउन आग्रह गरे ।
