काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ (एफक्यान) का अध्यक्ष निकोलस पाण्डेले प्रशासनिक प्रक्रियाका झमेला हटाइए निर्माण व्यवसायीले तोकिएकै समयभित्र गुणस्तरीय काम गर्न सक्ने बताएका छन् । उनले विकासका काम ढिलो हुनेमा व्यवसायी मात्र दोषी नरहेको दाबी गरे ।
नुवाकोटको ढुङ्गेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले विपद्पछिको पुनर्निर्माणका क्रममा प्रशासनिक बाधा नहुँदा एक महिनाभित्रै पुल निर्माण सम्पन्न भएको उदाहरण दिए । विकासका काममा ५० ठाउँमा हस्ताक्षर गर्नुपर्ने लामो प्रक्रियालाई उनले मुख्य बाधकका रूपमा औँल्याए ।
विपद् व्यवस्थापनका लागि सरकारी संयन्त्रसँग आवश्यक उपकरणको अभाव देखिएपछि व्यवसायीहरूले आफ्नै स्रोतसाधन परिचालन गरेको उनले बताए । बेत्रावती क्षेत्र तथा आसपासका खोलामा बेलिब्रिज निर्माण गर्दा नेपाली सेनाको मात्र चर्चा भएको तर व्यवसायीले उपलब्ध गराएका यन्त्र–उपकरण र योगदानको कदर हुन नसकेको उनले गुनासो गरे ।
आफ्नै परिवार र आफन्त गुम्दा समेत पीडा बिर्सेर स्थानीय व्यवसायीले उद्धारका लागि उपकरण उपलब्ध गराएको अध्यक्ष पाण्डेले स्मरण गरे । महासङ्घले राज्यको विपद् कोषमा हालसम्म करिब १० करोड रुपैयाँ जम्मा गरिसकेको छ । नवनिर्मित पुलबाट दैनिक सात हजार ५०० भन्दा बढी सर्वसाधारण, विद्यार्थी र बिरामी लाभान्वित भइरहेका छन्, र आगामी चाडपर्वमा आवागमन थप सहज हुने उनको विश्वास छ ।
