काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसीसँग जोडिने फुर्केखोला पुलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । पुल बन्न ढिलो हुँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा भोग्नुपरेको कठिनाइप्रति उनले चासो व्यक्त गरेका हुन् ।
शनिबार गोरखा जाँदै गर्दा धादिङमा स्थानीयसँग भेट भएपछि गुरुङले पुलको अवस्थाबारे जानकारी लिएका थिए । स्थानीयले निर्माण रोकिएका कारण यात्रा गर्न निकै असहज भएको गुनासो गरेका थिए । गुनासो सुनेपछि गृहमन्त्रीले सडक विभागका कर्मचारीलाई काम तुरुन्त अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
गुरुङले रोकिएको निर्माणलाई गति दिन र देखिएका समस्या समाधान गर्न सरकारसँग आवश्यक समन्वय गर्ने काममा थप पहल गर्न पनि निर्देशन दिएका छन् । पुल छिटो तयार भएमा धादिङबेसी क्षेत्रका बासिन्दाको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
