दुग्ध किसानहरूका लागि यसपटकको बडादसैँ विगत चार वर्षभन्दा निकै फरक र सुखद बनेको छ। आफूले बेचेको दुधको लाखौँ रुपैयाँ समयमै नपाउँदा चाडपर्व खल्लो बनाएका किसानले यसपटक भने दसैँअघि नै बक्यौता रकम हात पारेका छन्। दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगहरूले किसानको बाँकी भुक्तानी धमाधम फरफारक गरेपछि गाउँघरमा दसैँको उल्लास देखिएको छ।
संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार यस वर्ष किसानलाई तिर्नुपर्ने ठुलो बक्यौता छैन। नियमित भुक्तानी चक्रअन्तर्गत करिब २० देखि २५ करोड रुपैयाँ मात्र तिर्न बाँकी रहेको र त्यो सामान्य व्यावसायिक प्रक्रियामात्र भएको उनको भनाइ छ। बजारमा डीडीसीका उत्पादनको माग राम्रो रहेको र व्यापार बढेको उनले जानकारी दिए। दसैँ बिदामा पनि दुध सङ्कलन र वितरण रोकिन नदिन विशेष तयारी गरिएको उनले बताए।
काभ्रेका अगुवा किसान नारायण नेपालले विगतका वर्षमा पैसा माग्न सडक आन्दोलनमै उत्रनुपरेको स्मरण गर्दै यसपटक करिब ९० प्रतिशत बक्यौता किसानको हातमा परिसकेको बताए। केही समयअघिसम्म दुग्ध उत्पादक सहकारी सङ्घमार्फत गुनासो आउने गरे पनि यसपटक निजी र सरकारी दुवैतर्फबाट धमाधम भुक्तानी भएपछि किसानले ठुलो राहत पाएका हुन्।
यसअघि दसैँको मुखमा दुधको पैसा नपाउँदा किसान गाउँकै समूह र साहु–महाजनसँग ऋण खोजेर चाड मनाउन बाध्य थिए। आफ्नै पसिनाको पैसा डेरीमा फसेको अवस्थामा गाईवस्तुको दाना र घरखर्चका लागि ऋण लिनुपर्ने त्यो बाध्यता अहिले हटेको छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले यसपटक बक्यौता पूर्ण रूपमा फरफारक भएको बताए। उनका अनुसार निजी डेरीले पनि भुक्तानी दिइरहेका छन् र साप्ताहिक वा १५ दिने चक्रबाहेकका अधिकांश भुक्तानी भइसकेका छन्। उद्योगको स्टक खाली हुँदा भुक्तानी सहज भएको उनको भनाइ छ।
