काठमाडौं । समस्याग्रस्त घोषणा गरिएको सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सम्पत्ति बिक्री गर्ने समयसीमा १५ दिन बढाइएको छ। बागमती प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लिलाम बिक्रीको म्याद थप गर्ने निर्णय गरेको हो।
ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको यो सहकारी समस्याग्रस्त घोषणा भएपछि समितिले बचतकर्ताको पैसा फिर्ता गर्ने उद्देश्यले यसका सम्पत्ति लिलाम गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले यसअघि असोज १७ गते ३५ दिने लिलाम बिक्रीको सूचना प्रकाशित गरेको थियो। तर प्राविधिक कारणले सम्पत्ति र सर्तमा केही परिवर्तन गर्नुपरेको समितिले जनाएको छ।
समितिको सूचनाअनुसार पहिलो पटक प्रकाशित सूचनाको ३५औँ दिनमा १५ दिन समय थपिएको छ। यससँगै इच्छुक खरिदकर्ताले पहिलो सूचना प्रकाशित भएको मितिदेखि ५० दिनभित्र सिलबन्दी बोलपत्र दर्ता गर्न सक्नेछन्।
समितिले सम्बन्धित कम्पनीका नाममा रहेका बैंक ऋण चुक्ता गर्न र बचतकर्ताको बचत फिर्ता गर्न सम्पत्ति लिलाम गर्न लागेको स्पष्ट पारेको छ।
लिलाममा राखिएका सम्पत्तिमा सुमेरु सिटी अस्पताल प्रालिका नाममा ललितपुर महानगरपालिका वडा नम्बर ३ मा रहेका नौ कित्ता जग्गा छन्। ती जग्गामा बनेका भवन तथा अन्य संरचना पनि बिक्रीमा राखिएका छन्। यसबाहेक बायोमेडिकल इन्जिनियरबाट मूल्याङ्कन गरिएका अस्पतालका पुँजीगत सामग्री र उपकरण पनि लिलाम हुने सूचीमा छन्।
सुमेरु अस्पतालको सञ्चालन अनुमतिपत्र र शंखरापुर कलेजको सञ्चालन अनुमतिपत्र पनि लिलाम गरिने छ। कलेजले सञ्चालन गर्दै आएका सम्पूर्ण शैक्षिक कार्यक्रम र कक्षा सञ्चालनमा प्रयोग हुँदै आएका चल सम्पत्ति पनि बिक्रीमा राखिएको समितिले जनाएको छ।
