काठमाडौंको सातुंगलमा सडकमा आराम गरिरहेको एउटा कुकुरमाथि एक व्यक्तिले रडले आक्रमण गरेको घटना सार्वजनिक भएको छ। सशस्त्र प्रहरी बल अस्पताल नजिकैको सडकमा भएको यो घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ र धेरैले यसको कडा विरोध गरेका छन्।
फुटेजमा हेल्मेट लगाएका र पछाडि ब्याग भिरेका एक व्यक्ति हातमा रड लिएर बिस्तारै अगाडि बढ्दै गरेको देखिन्छ। केही पर कालो–खैरो रङको कुकुर सडकमा सुस्ताइरहेको छ। ती व्यक्तिले पछाडिबाट आएर कुकुरमाथि रडले प्रहार गर्छन्। प्रहारपछि कुकुर छटपटाउँदै उत्तानो परेको देखिन्छ। त्यसपछि पनि ती व्यक्तिले रडले घोच्ने क्रम जारी राखेको फुटेजमा देखिएको छ।
आक्रमणबाट कुकुर मरणासन्न अवस्थामा पुगेको बताइएको छ। यो घटना केही दिनअघि भएको हो। फुटेज सार्वजनिक भएपछि पशुप्रेमी र सर्वसाधारणले घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।
पशु अधिकारकर्मीहरूले ती व्यक्तिको पहिचान गर्न खोजिरहेका छन्। पशु संरक्षणको क्षेत्रमा काम गरिरहेको संस्था टीएफसी नेपालले पनि भिडियोमा देखिएका व्यक्तिलाई चिन्न सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ। संस्थाले पशुमाथि हुने क्रूरता गम्भीर चिन्ताको विषय भएको र यस्ता घटना देखेमा सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने बताएको छ।
ती व्यक्तिको पहिचान भइसकेको छैन। उनी किन निर्दोष कुकुरमाथि आक्रमण गर्न पुगे भन्ने पनि खुल्न बाँकी छ। अधिकारकर्मीहरूले पहिचान भएपछि कानुनी कारबाहीका लागि पहल गर्ने बताएका छन्।
