भारतको मध्य प्रदेश राज्यमा रहेको विदिशा जिल्लामा विद्युतीय दुर्घटनामा परेर ६५ वर्षका एक वृद्धले ज्यान गुमाएका छन्। गन्ज बासोदाको गायत्री नगर क्षेत्रमा शुक्रबार भएको घटनामा भाडाको आवासको तेस्रो तलामा बस्दै आएका प्रभु लाल गुप्ताको मृत्यु भएको हो। उनी पेसाले मेकानिक थिए।
जानकारी अनुसार गुप्ता बार्दलीमा उभिएर गुट्खा थुक्दै गर्दा नजिकैबाट गएको ११ हजार भोल्ट क्षमताको तारसँग उनको शरीर ठोक्किन पुगेको थियो। उच्च भोल्टेजको झट्का लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे थाहा पाएपछि प्रहरीको टोली तुरुन्तै त्यहाँ पुगेको थियो।
गुप्ताको मूल घर छतरपुरमा भए पनि उनी पछिल्ला १० वर्षदेखि गन्ज बासोदामा भाडामा बस्दै आएका थिए। यो घटनापछि स्थानीय बासिन्दा विद्युत् विभागप्रति रोष प्रकट गरेका छन्। आवासीय बस्ती नजिकबाट गएको उच्च क्षमताको लाइन हटाउन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
घरधनी पद्मा चिधरका अनुसार लाइन सार्नका लागि अधिकारीसमक्ष धेरै पटक निवेदन दिइएको थियो। चाँडै हटाइने आश्वासन दिइए पनि लामो समयसम्म कुनै काम नभएको उनले बताए। धेरै आवासीय क्षेत्रमा यस्ता लाइन घरसँगै टाँसिएर गएको र नियमित मर्मत तथा सुरक्षामा ध्यान नदिइएको स्थानीयको आरोप छ।
