पाकिस्तानको पञ्जाब प्रान्तमा शुक्रबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा ११ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार पाकपट्टन नजिकैको डेपालपुर सडकखण्डमा यात्रु बोकेको बस र ट्रक आमनेसामने ठोक्किएका थिए। मुल्तानबाट कसुरतर्फ गइरहेको बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग जुधेको थियो।
उद्धार संस्था रेस्क्यु ११२२ का अनुसार घाइतेमध्ये आठ जनाको अवस्था सामान्य छ भने २५ जनालाई उपचारका लागि पाकपट्टनस्थित अस्पताल लगिएको छ।
दुर्घटनापछि उद्धारकर्मीले करिब तीन घण्टासम्म उद्धार अभियान चलाएका थिए। बस र ट्रकका भग्नावशेषमा फसेका यात्रुलाई निकाल्न क्रेनसहितका भारी उपकरण प्रयोग गरिएको थियो।
यसैबीच पञ्जाबमा सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ। गत अक्टोबरमा मात्रै प्रान्तभर ४४ हजार ७९७ वटा सडक दुर्घटना भएका थिए। ती दुर्घटनामा ४६४ जनाको मृत्यु भएको थियो भने २३ हजार ५४३ जना गम्भीर घाइते भएका थिए। तीमध्ये करिब तीनचौथाइ दुर्घटना मोटरसाइकलसँग सम्बन्धित थिए।
लाहोरमा सबैभन्दा धेरै दुर्घटना भएका थिए, जहाँ मोटरसाइकलसँग सम्बन्धित ७ हजार ८७४ दुर्घटना अभिलेख गरिएका थिए। मुल्तान, फैसलाबाद र गुजराँवालामा पनि हजारौँ दुर्घटना भएका थिए।
अक्टोबरमा मात्रै दुई लाख ३१ हजारभन्दा बढी विभिन्न प्रकृतिका आपत्कालीन घटनामा उद्धार टोली परिचालित भएका थिए। ती घटनामा सडक दुर्घटना, आगलागी, डुबान तथा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्था समावेश थिए।
