काठमाडौं । आगामी फागुन १ गतेदेखि पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) सुरु हुने घोषणा भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले लिगको औपचारिक घोषणा गरेका हुन् ।नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित लिगको योजना अघि सारिएको नेपाल फुटबल लिगका प्रमुख कल्याण गुरुङले बताए । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबललाई चलयमान राख्न लिगले सहयोग पुर्याउने विश्वास उनले व्यक्त गरे ।प्रतियोगितामा सहभागी हुने ७ टोलीको नाम पक्का भइसकेको छ । ती टोलीमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् । सात टोलीबाहेक केही टोली थप गर्ने योजना पनि आयोजकले बनाएको छ ।लिग होम एन्ड अवेका आधारमा सञ्चालन हुनेछ । सम्पूर्ण प्रतियोगिता करिब ४ महिनामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
फागुन १ देखि पहिलो नेपाल फुटबल लिग : सात टोली पक्का, केही थपिने
