काठमाडौं — नेकपा एमालेले सञ्चारगृहमा छापा हान्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने सरकारी कदमको विरोध गरेको छ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो गतिविधि लोकतन्त्रविरुद्ध भएको बताएका हुन्।
आचार्यले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्दै पत्रकारलाई पक्राउ गर्ने र समाजमा भयको वातावरण बनाउने काम गरिरहेको आरोप लगाए। यस्तो व्यवहारलाई उनले अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्ति भनेका छन्।
प्रेस स्वतन्त्रता लोकतन्त्रको जग भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक माथिको आक्रमण भएको टिप्पणी गरे। राज्यका निकायहरू कानुनको शासनको सीमाभित्र रहनुपर्नेमा सरकार स्वयंले कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत व्यवहार देखाउनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।
उनले कानुनको शासनको नाममा कानुन उल्लंघन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरंकुशता स्वीकार्य नहुने बताए। सञ्चारमाध्यममाथिको गैरकानुनी हस्तक्षेप र सञ्चारकर्मीमाथिको धरपकड तत्काल रोक्न माग गर्दै आचार्यले सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे।
सरकारको कदमलाई दमनकारी र निरंकुश भन्दै उनले प्रेस स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनको रक्षाका लागि आवाज उठाउन सबैलाई आह्वान समेत गरे।
