कञ्चनपुर — आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी सुरु भएको छ। जिल्लाबाट २३ वटा खेल विधामा सहभागिताका लागि ८४० जना खेलाडीले फारम भरिसकेका छन्।
जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार फारम भरेका खेलाडीबीच प्रतिस्पर्धा गराएर ११५ जनालाई जिल्लाको टोलीमा छनोट गरिनेछ। उनले फारम भरेका खेलाडीहरू अहिले तयारीमा जुटेको र प्रतिस्पर्धापछि छनोट हुने जानकारी दिए।
समितिले मंगलबारदेखि जिल्ला छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ। छनोट हुने खेलमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती, हक्की, भारोत्तोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी र ब्याडमिन्टन रहेका छन्।
जिल्ला छनोटबाट छानिएका खेलाडीले कर्णालीमा हुने राष्ट्रिय प्रतियोगितामा कञ्चनपुरको प्रतिनिधित्व गर्नेछन्। छनोट प्रतियोगिताले जिल्लाका प्रतिभावान खेलाडीलाई राष्ट्रिय मञ्चसम्म पुग्ने बाटो खोल्ने समितिको अपेक्षा छ।
