काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीचको खेलमा दुवै टोलीले प्लेइङ–११ मा फेरबदल गरेका छन् । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका छन् ।
जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा प्लेइङ–११ मा रहेका कुशल परेराको स्थानमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशमलाई मौका दिइएको छ । कप्तान हरमीत सिंहको नेतृत्वमा जनकपुरको टोलीमा निशमसँगै सैफ हसन, मोइन अली, ललित राजवंशी, अनिल साह, मयन यादव, तृतराज दास, अभिषेक तिवारी, राहुल यादव र अमरसिंह रौटेला रहेका छन् ।
पोखराले भने टोलीमा तीन परिवर्तन गरेको छ । आकाश चन्द, धनन्जय लक्षन र सामराविक्रमाको स्थानमा विपिन आचार्य, मोहम्मद सैफउद्दीन र चामिका करुणारत्नेले आज खेल्दैछन् । कप्तान भुर्तेलसँगै विपिन खत्री, किरण ठगुन्ना, दीनेश खरेल, अर्जुन मगर, प्रतीक पोख्रेल, सकिब अल हसन र मेहदी हसन टोलीमा छन् ।
पोखराले पहिलो खेलमा पराजय भोगेको थियो भने जनकपुरले दुईमध्ये एक खेलमा जित निकालेको छ । दुवै टोली विदेशी खेलाडीले भरिएको बलियो प्लेइङ–११ सहित मैदान उत्रिएका छन् ।
