काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच भएको खेलले मैदानको तयारी, खेलाडीको सुरक्षा र खेल सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ । वर्षाका कारण मैदानको आउटफिल्ड भिजेपछि सुरुमा खेल्न अस्वीकार गरेको सुदूरपश्चिम अन्ततः मैदानमा उत्रिएको थियो ।
बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आउटफिल्ड भिजेको थियो । दिउँसो ५ बजे सुरु हुनुपर्ने खेलको टस सुरुमा साँझ ७ः२५ का लागि सारिएको थियो, त्यसपछि ७ः३५ हुँदै राति ९ बजेसम्म पुगेको थियो । वर्षाका कारण २० ओभरको खेल पाँच ओभरमा सीमित गरिएको थियो । विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो र विराटनगरले ३५ रनको जित निकाल्यो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मैदानको माथिल्लो सतह मात्रै सुकाइएको र भित्री सतह ओसिलो रहेकाले खेलाडी चिप्लिने र चोटपटक लाग्ने जोखिम रहेको बताए । उनका अनुसार खेलाडीको सुरक्षासँग जोडिएको विषयमा दुवै टोलीका कप्तानको सहमति पनि महत्त्वपूर्ण हुन्छ र कसैलाई जबर्जस्ती खेलाउन मिल्दैन ।
नेपाली क्रिकेटका पूर्वकप्तान पवन अग्रवालले भने मैदान खेल्न योग्य छ वा छैन भन्ने प्राविधिक मूल्याङ्कन गर्ने पहिलो जिम्मेवारी म्याच रेफ्री र प्राविधिक समितिको रहेको बताए । उनका अनुसार मैदान सुरक्षित रहेको ठहर भएमा खेल सञ्चालन गर्न दुवै टोलीको सहमति आवश्यक पर्दैन । उनले खेलका लागि तोकिएको अन्तिम समयसीमा ७ः४१ रहेको र त्यो समयमा खेल हुन नसके खेल रद्द हुनुपर्ने पनि बताए ।
एनपीएलका अघिल्ला दुई संस्करणमा वर्षाका कारण खेल प्रभावित भएको थिएन । यसपटक अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरसँग तालिका मिलाउन प्रतियोगिता करिब एक महिना अगाडि सारिएको नेपाल क्रिकेट संघको भनाइ छ ।
